४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, जल तथा मौसम विभागको सतर्कता आग्रह

जल तथा मौसम विज्ञान विभागले देशका ४४ जिल्लामा बुधबार र बिहीबार आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लामा बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा पनि साना नदीहरूमा बहाव बढ्ने र मध्यम जोखिम रहने विभागले जनाएको छ।

चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत आसपासका क्षेत्रमा समेत आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

विभागले लगातारको वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह एक्कासि बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी तर्न नजान, जोखिमयुक्त क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.