नेपाली भान्सामा नियमित प्रयोग हुने चना स्वादका साथै पोषणको पनि उत्कृष्ट स्रोत मानिन्छ। भिजाएर वा उसिनेर दुवै तरिकाले खान मिल्ने चनाले शरीरलाई आवश्यक प्रोटिन, फाइबर, फलाम, पोटासियम, म्याग्नेसियम र फोलेटजस्ता पोषक तत्त्व उपलब्ध गराउँछ।
१०० ग्राम चनामा करिब १६४ क्यालोरी, ८.९ ग्राम प्रोटिन, ७.६ ग्राम फाइबर, २७.४ ग्राम कार्बोहाइड्रेट, २.६ ग्राम बोसो, २.८९ मिलिग्राम फलाम र २९१ मिलिग्राम पोटासियम पाइन्छ।
विशेषज्ञका अनुसार भिजाएको चना नरम हुने भएकाले छिटो पच्ने गर्छ। संवेदनशील पेट भएका व्यक्तिका लागि भने उसिनेको चना अझ सहज र पाचनमैत्री विकल्प हुन सक्छ। दुवै प्रकारको चनाले शरीरलाई समान रूपमा पोषण प्रदान गर्ने भएकाले आफ्नो आवश्यकता र रुचिअनुसार सेवन गर्न सकिन्छ।
चना खानुका प्रमुख फाइदाहरू:
- तौल नियन्त्रणमा सहयोग – प्रोटिन र फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ।
- पाचन प्रणाली स्वस्थ राख्ने – फाइबरले पाचन सुधार्नुका साथै कब्जियतको समस्या कम गर्न मद्दत गर्छ।
- रगतमा चिनीको मात्रा सन्तुलन – कम ग्लाइसेमिक इन्डेक्स भएकाले रगतमा चिनीको स्तर नियन्त्रणमा सहयोग पुर्याउँछ।
- मुटुको सुरक्षा – पोटासियम, म्याग्नेसियम र फाइबरले मुटुको स्वास्थ्य राम्रो राख्न र कोलेस्ट्रोल व्यवस्थापनमा सहयोग गर्छ।
- ऊर्जा बढाउने – फलामको राम्रो स्रोत भएकाले हेमोग्लोबिन उत्पादन बढाउन र शरीरमा अक्सिजनको प्रवाह सुधार गर्न मद्दत गर्छ।
- हड्डी मजबुत बनाउने – म्याग्नेसियम र फस्फोरसले हड्डीलाई बलियो बनाउन योगदान पुर्याउँछन्।
नियमित रूपमा सन्तुलित मात्रामा चना सेवन गर्दा शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त हुने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।
























