आजदेखि १४.२ केजीकै एलपीजी ग्यास वितरण, पुरानै प्रणालीमा फर्कियो आयल निगम

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई पुनः पुरानै अवस्थामा फर्काएको छ। बुधबारदेखि देशभरका उपभोक्ताले साविककै १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर ग्यास खरिद गर्न पाउने भएका छन्।

ग्यास आपूर्तिमा आएको अस्थायी समस्याका कारण केही समयका लागि ७.१ केजी क्षमताको सिलिन्डर भर्ने व्यवस्था गरिएको थियो। आपूर्ति अवस्था सामान्य बनेपछि उक्त व्यवस्था हटाउँदै निगमले पुनः पूर्ण क्षमताको सिलिन्डर वितरण सुरु गरेको हो।

हाल १४.२ केजी एलपीजी ग्यासको मूल्य प्रति सिलिन्डर दुई हजार ६० रुपैयाँ कायम रहेको निगमले जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) का बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङ सहज बनेको र भारतबाट आयात नियमित भइरहेकाले पुरानै प्रणाली लागू गरिएको हो। साथै, उपभोक्ताबाट पूर्ण क्षमताको सिलिन्डरको माग पनि उच्च रहेकाले यो निर्णय गरिएको जनाइएको छ।

निगमले बजारमा ग्यासको पर्याप्त आपूर्ति रहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.