नेपाली कांग्रेसले नेकपा एमालेसँगको प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सातवटै प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो।
पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच पटक–पटक भएको छलफलबाट सहमति जुट्न नसकेपछि कांग्रेसले एमालेसँगको गठबन्धनबाट बाहिरिने निष्कर्ष निकालेको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार सातै प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाइने तयारी भइरहेको छ।
यसअघि बुधबार कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको थियो।
कर्णालीमा एमाले नेतृत्व र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेको छ। अब बाँकी प्रदेशहरूमा पनि एमाले–कांग्रेसबीचको सत्ता सहकार्य अन्त्य हुने संकेत देखिएको छ।
कांग्रेसभित्र नेकपा (माओवादी केन्द्र) लगायतका दलसँग नयाँ राजनीतिक समझदारीको सम्भावना भए सरकारमै रहने, अन्यथा सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने विकल्पबारे पनि अनौपचारिक छलफल भइरहेको स्रोतले जनाएको छ।
























