आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको तयारीका क्रममा नेपालले जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि जित दर्ता गरेको छ। बुधबार राति वर्षाले प्रभावित बनेको खेलमा नेपाल डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार ७ रनले विजयी भएको हो।
२८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भयो।
नेपालको जितमा इशान पान्डेले उत्कृष्ट ९० रन बनाए। कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने भीम सार्कीले ३७ तथा दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। जर्सीका प्याट्रिक गजले ९५ रन बनाए भने ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रीनउडले ३२ र जोन्टी जेनरले २७ रन जोडे।
नेपालका बलर करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट हात पारे।
यसअघि भएको पहिलो अभ्यास खेलमा पनि नेपाल ८१ रनले विजयी भएको थियो। नेपालले अब जुलाई २१ देखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासहितको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ।
























