हेटौंडा — दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अब स्थानीय समितिले सम्हाल्ने भएको छ।
हेटौंडा उपमहानगरपालिकाले बुधबार चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिसँग सम्झौता गर्दै सुरुङको संरक्षण र व्यवस्थापनको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको हो। सम्झौतापत्रमा नगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार समितिले सुरुङको नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी वहन गर्नेछ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको प्रवेश शुल्क उठाउन सकिनेछ भने उक्त रकम सुरुङको संरक्षण, सञ्चालन र व्यवस्थापनमै खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौताले सुरुङको मौलिक तथा ऐतिहासिक स्वरूपमा कुनै परिवर्तन गर्न नपाइने स्पष्ट गरेको छ। साथै, समितिले प्रत्येक वर्ष आफ्नो प्रगति विवरण र आय–व्यय प्रतिवेदन उपमहानगरपालिकामा बुझाउनुपर्नेछ। उपमहानगरपालिकाले आवश्यक अनुगमन, समन्वय तथा निर्देशन गर्नेछ।
वि.सं. १९७२ (सन् १९१५) मा निर्माण सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको चुरियामाई सुरुङ तत्कालीन हेटौंडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको थियो। करिब दुई वर्ष लगाएर बनेको यो सुरुङ नेपालको आधुनिक रेल यातायातको प्रारम्भिक इतिहाससँग जोडिएको महत्वपूर्ण सम्पदा मानिन्छ।
सुरुङ निर्माणको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए। लामो समय प्रयोगविहीन रहेको सुरुङको बागमती प्रदेश सरकारले मर्मत तथा पुनःसंरक्षण गरेपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। हाल यो मकवानपुरको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।
























