बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारहरूका लागि स्वास्थ्य उपचार सेवामा विशेष सहुलियतको व्यवस्था गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको सिफारिसमा पत्रकारहरूले प्रदेश अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशत छुट पाउने भएका हुन्।
स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले पत्रकारलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो।
यस व्यवस्थाअनुसार प्रदेश अस्पतालबाट उपलब्ध हुने आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्सरेलगायतका सेवामा पत्रकारहरूले ५० प्रतिशत शुल्क छुट प्राप्त गर्नेछन्।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले प्रदेश सरकारको यो निर्णयले पत्रकारहरूको स्वास्थ्य उपचारमा आर्थिक राहत पुग्ने र पेशागत सुरक्षामा समेत सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

























