नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी तीव्र, साउनभित्र खुल्ने

काठमाडौं– नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सुरुङमार्गको प्रवर्द्धन तथा यसको उपयोग र महत्वबारे सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले शनिबार ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ। सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा भएको कार्यक्रममा सर्वसाधारणको सहभागिता रहेको थियो।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गबारे जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको हो। उनका अनुसार मुख्य सुरुङको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ।

ठेक्का सम्झौताअनुसार सन् २०२३ अप्रिल २६ सम्ममा निर्माण सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण आयोजना प्रभावित भएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डको यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ। हाल उक्त नाकाबाट दैनिक औसतमा दुईपाङ्ग्रे सवारीसाधनबाहेक ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

आयोजना कार्यालयका अनुसार तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। यद्यपि, सुरुङमार्गभित्र दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

सुरुङमार्ग सञ्चालनपछि नागढुङ्गा–नौबिसे सडकखण्डमा यात्रा समय घट्नुका साथै काठमाडौं प्रवेश र बाहिरिने यातायात आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.