मनहरी। मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङटाडीमा स्थानीय युवाहरूको अग्रसरतामा वृक्षरोपण अभियान सञ्चालन गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुन्दर बस्ती निर्माण गर्ने उद्देश्यले आयोजित अभियानअन्तर्गत २४६ वटा बिरुवा रोपिएको हो।
स्थानीय युवाहरूको सक्रिय सहभागितामा अभियान सञ्चालन गरिएको हो।
युवाहरूका अनुसार अभियानअन्तर्गत कल्की, ज्याकारान्डा लगायत विभिन्न प्रजातिका २४६ वटा बिरुवा स्कुल डाडा, वडा कार्यलय लगायतका ठाउँहरुमा रोपिएको युवाहरुले बताए। सार्वजनिक स्थल तथा सडक आसपासका क्षेत्रमा बिरुवा रोपेर हरियाली विस्तारसँगै वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखिएको उनीहरूले बताएका छन्।
स्थानीय युवाहरूले वृक्षरोपणलाई एकदिने कार्यक्रममा मात्र सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत ध्यान दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले वातावरण संरक्षण सबैको साझा दायित्व भएकाले यस्ता अभियानमा समुदायको निरन्तर साथ र सहभागिता आवश्यक रहेको बताएका छन्।
भुन्द्रुङटाडीमा युवाहरूको सामूहिक पहलमा सञ्चालन गरिएको यस अभियानले स्थानीय स्तरमा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।
भुन्द्रुङटाडी टोल विकास संस्थाका अध्यक्ष शिवलाल घलान र भुन्द्रुङटाडी समर्पित उज्यालो पुस्ताका अध्यक्ष कर्म स्याङ्तान लगायत युवाहरूको सक्रियता रहेको थियो ।
























