हेटौँडामा ठूलो परिमाणको लागुऔषधसहित १० जना पक्राउ

हेटौँडा । मकवानपुर जिल्लामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १० जनालाई पक्राउ गरेको छ।

११२ किलो ७९० ग्राम गाँजासहित ३ जना पक्राउ
भदौ १५ गते बिहान करिब ४:१५ बजे, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र प्रहरी चौकी बसामाडीबाट खटिएको संयुक्त टोलीले हेटौडा उपमहानगरपालिका–३ बसामाडीस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा बा.प्र.०१-००२ ज ६५४९ नं.को EV गाडी रोकी तलासी गर्दा ११२ किलो ७९० ग्राम गाँजा फेला परेको हो।

उक्त गाडीका चालक काभ्रे पाँचखाल–८ बस्ने २१ वर्षीय युवकका साथमा २० वर्षीय र दोलखा सैलुङ–८ का २२ वर्षीय युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

२६ किलो १० ग्राम गाँजासहित ३ जना पक्राउ
भदौ १५ गते नै बिहान करिब ४:५० बजे, सोही प्रहरी टोलीले बसामाडी चौकी अगाडि बा.प्र.०६-००१ ज ०५०३ नं.को यात्रुबाहक EV गाडी चेकजाँच गर्दा यात्रुहरूले बोकेको झोलाभित्र लुकाइएका २६ किलो १० ग्राम गाँजा बरामद गरेको छ।

यस क्रममा मकवानपुर राक्सीराङ–१ का ३० वर्षीय प्रेमराज मोक्तानसहित १९ वर्षीय थप २ जना युवकहरु पक्राउ परेका छन्।

हेरोईनसहित ४ जना पक्राउ
यसअघि भदौ १३ गते दिउँसो करिब २:१५ बजे, हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित कबि कार्कीको कोठामा लागुऔषध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा १ ग्राम २६० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला पारेको छ।

यस घटनामा कोठा मालिक ३८ वर्षीय कबि कार्की, २६ वर्षीय उमेश लामा, ३३ वर्षीय सुरेश घलान र २९ वर्षीय सुनिल न्यौपाने पक्राउ परेका छन्।

प्रहरीका अनुसार बरामद गरिएको सबै लागुऔषध र सम्लग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.