हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लागुऔषध सम्बन्धी दुई छुट्टाछुट्टै घटनामा ठूलो परिणाममा गाँजा बरामद गरिएको छ भने खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ भदौ १६ गते राती करिब १:५० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित च्यानडाँडाको भित्री जंगल मार्गबाट लागुऔषध गाँजा ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा बसामाडी लेवट प्रहरी चौकीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।
त्यहाँ ७ देखि ८ जना व्यक्तिहरू भारी बोकी आउँदै गरेको देखिएपछि प्रहरी देख्नासाथ ती व्यक्तिहरू गाँजाका भारी फाली जंगलतर्फ फरार भएका थिए। प्रहरीले त्यही ठाउँमा छाडिएको गाँजाको तौल गर्दा जम्मा २१२ किलो ८६० ग्राम रहेको जनाएको छ। हाल फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, मिति २०८२ भदौ १५ गते बिहान ११:३० बजे हेटौंडा–७ स्थित मिलनचोकमा शंकास्पद रुपमा हिँडिरहेका हेटौंडा–५ निवासी ३२ वर्षीय समिर महत्तलाई प्रहरीले खानतलासी गर्दा ४ ग्राम ९६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागुऔषध ट्रामाडोल १० क्याप्सुल फेला पारेको छ।
प्रहरीले लागुऔषधसहित समिर महत्तलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।



































