मकवानपुरमा लागुऔषधसहित ४ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो तीन दिनमा विभिन्न स्थानबाट ठूलो मात्रामा लागुऔषध बरामद गर्दै ४ जनालाई नियन्त्रणमा लिएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२, भैसे चेकपोस्टमा भदौ ३१ गते बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेको संयुक्त टोलीले बा २ ख ३२१९ नम्बरको भाडा कन्टेनर रोकेर जाँच गर्दा १५७ किलो १२० ग्राम गाँजा फेला पारेको हो।

गाँजा कन्टेनरको पछाडिको डिब्बामा १२ पोकामा लुकाइ–छिपाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। यस घटनामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ बस्ने ४१ वर्षीय चालक बीरबहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ। उनले प्रयोग गरेको कन्टेनर पनि प्रहरीले बरामद गरेको छ।

त्यसैगरी, भदौ ३० गते बेलुकी करिब ८ बजे हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनीस्थित उमेश लामाको घरमा बिक्रीवितरणको लागि राखिएको ५ ग्राम ३०० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ का २५ वर्षीय उमेश लामा र वडा नं. १३ का २९ वर्षीय विनोद गुरुङ रहेका छन्। उनीहरूको साथमा साना पुडियामा प्याक गरिएको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।

यसअघि भदौ २९ गते मध्यरात १२:२५ बजे, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ, सिमलटारमा विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा २२५ क्याप्सुल ट्रामाडोलसहित एक जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा सोही क्षेत्रका २३ वर्षीय अजय रिजाल रहेका छन्। उनको साथबाट लुकाइ–छिपाइ राखिएको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.