मनहरी । मकवानपुरको मनहरीमा हाम्रो गाउँ, हाम्रो गौरव नारा सहित युवाहरुले सरसफाइ अभियान सुरु गरेका छन । मनहरी– २ ठाडोखोलामा नारा सहित आजदेखि बाटो सरसफाइ स्थानीय युवाहरूको सक्रियतामा अभियान सुरु भएको हो ।
हाम्रो गाउँ, हाम्रो गौरव भन्ने मुल नाराका साथ युवाहरुले अभियान थालेको र गाउँमा हरेक किसिमले विकास र उज्यालो गाउँ बनाउन अबका दिनहरुमा आफुहरु लागिपर्ने युवाहरुले बताए ।
म्हेन्दो टोल विकास संस्था अन्तर्गत पर्ने बुद्धचोकदेखि दोभान हुँदै गोगनघारी पुग्ने बाटोमा सरसफाइ आफ्नो पहलमा अभियानमा थालेको सुर्य बहादुर गोलेले बताए । टोल विकास संस्थाका अध्यक्ष बलिराज गोङ्बा सहित सबै टोलबासीको उपस्थिति रहेको र सरसफाइ गर्ने क्रममा खोलानिर पर्ने स्ल्याबरोडमा रहेको चिप्लो लेउ हटाउने तथा बाटो छेउको झारपात फाँड्ने काम भएको गोलेले बताए ।
हिन्दु नेपालीहरुको मनाउने महान चाडपर्व दशै तिहार नजिकिए सँगै बाटोमा सवारी साधन तथा मान्छेको आवतजावत बढी हुने भएकाले यात्र सहज होस् र बाटो सफा देखियोस भन्ने उद्देश्यले स्थानियहरुले सरसफाइ गरेको हुन् । सदाझैँ पालिकाबाट बाटो सरसफाइका लागि जेसिबी आउने कि न आउने एकिन नभएकाले तत्कालका लागि स्थानीयले बाटो सरसफाइ अभियान चलाएको हो । विशेषत विद्यालय आउनेजाने विद्यार्थीहरु भाइबहिनीलाई काँसघारी र झाडिको कारण हुने असहजता र कठिनाइलाई मध्यनजर गर्दै सरसफाइ गरेको जानकारी दिए ।
बाँकी बाटोमा भोलि पनि सरसफाइ गर्ने भएको छ । अभियानमा उपस्थित सम्पूर्ण टोलबासिलाई धन्यवाद दिँदै अझै अरु सामाजिक कार्यमा एकताबद्ध भइ जुट्न गोलेले अनुरोध गरेका छन् ।























































