काठमाडौं । नेपाल प्रमुख राजनीतिक दलहरुले पार्टी कार्यालयमा संविधान दिवस मनाउँन लागिएका छन । जेनजी युवा आन्दोलनपछि आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हुन।
सुशीला कार्कीको नेतृत्वमा सरकार गठन पछि दलहरुले संविधान रक्षाका लागि खबरदारी सहित दिवस मनाउने बताएका छन् । नेपाली कांग्रेसले ७७ जिल्लामा शान्तिपूर्ण संविधान दिवस मनाउन सर्कुलर जारी गरेको थियो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार ‘संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय’ भएको छ ।
नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजे संविधान दिवस मनाउने तयारी गरेको छ । कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताएका छन ।
राजधानी बाहिर ७७ वटै जिल्लामा संविधान तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि दिवस मनाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन ।
नेकपा माओवादी केन्द्रले पनि पार्टी कार्यालयमा बिहान ८ बजे नै संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको सहभागितामा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागिएको बताएका छन ।
संविधान माथि खतरा पैदा भएको भन्दै माओवादीले हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने जनाएको छ ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज अपराह्न साढे ३ बजे शीतल निवासमा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।






















































