हेटौंडा। मकवानपुरको हेटौडामा आत्मविश्वासी र सक्षम समाज निर्माण गर्ने उद्देश्यले भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा आएको छ। कालिराजको नेतृत्वमा स्थापना गरिएको यस केन्द्रमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरूलाई व्यावसायिक स्तरको भाषणकला, उद्घोषण र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको पत्रकार तथा प्रस्तोता रुपक कालिराजले जानकारी दिए ।
युवाहरू आत्मविश्वासको कमीका कारण रोजगारीका अवसर गुमाइरहेको र वैदेशिक रोजगारमा निर्भर हुन बाध्य भइरहेका अवस्थालाई मध्यनजर गर्दै स्थापना भएको केन्द्रले व्यावहारिक तालिममार्फत व्यक्तित्व विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। कालिराजका अनुसार संघ–संस्थाका पदाधिकारी, राजनीतिकर्मी, विद्यार्थी, शिक्षक, व्यापारी, सामाजिक अभियन्ता, कर्मचारी, गृहिणी, कलाकारदेखि सुरक्षाकर्मीसम्म जो कोही यस तालिममा सहभागी हुन सक्छन्।
नेपालका ५० भन्दा बढी जिल्लामा उद्घोषण, भाषणकला तथा नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गरिसकेका कालिराज हजारौँ स्टेज कार्यक्रम सञ्चालनको अनुभव बोकेका व्यक्तित्व हुन्। अनलाइन, पत्रपत्रिका र रेडियोका लोकप्रिय प्रस्तोता समेत रहेका उनी अहिले सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन ।
केन्द्रमा व्यावहारिक तालिम हल, अनलाइन सेवाहरू, सरकारी प्रक्रिया सहयोग लगायत सुविधाहरू उपलब्ध गराइनेछन्। चाँडै विभिन्न कार्यशाला, सेमिनार र प्रतिस्पर्धात्मक कार्यक्रमहरूको आयोजना गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ। तालिम केन्द्र हेटौंडा–२, मानसचोक (नगरपालिका अगाडि) रहेको र विशेष छुटका लागि तत्काल सम्पर्क गर्न सकिने कालिराजले दिए।
यस पहलले विद्यार्थी, युवा नेता, शिक्षक, सञ्चारकर्मी तथा सामाजिक अभियन्तालाई उपयोगी मात्र नभई बेरोजगार युवालाई सीपमूलक प्रशिक्षण मार्फत सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




































