राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने

निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको जानकारी दिए। यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने उनले बताए।

बुधबार जेनजीसहितका सरोकारवालाको एक बैठकमा बोल्दै भण्डारीले भने, ‘राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौं।’

यो नयाँ व्यवस्थाअनुसार, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन्। आयोगले उक्त आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ। यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हट्नेछ।

आयोगको यो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विदेश जाने अधिकांश नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेको उल्लेख गर्दै उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने बताए।

‘विदेशमा बस्नेहरूले पनि अनलाइनमार्फत फाराम भर्न सक्नुहुन्छ। उहाँहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले यहाँ (नेपालमा) जोड्ने व्यवस्था मिलाएका छौं,’ उनले भने।

हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको पनि उनले जानकारी दिए। अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ। नाम दर्ताको समय कात्तिक सम्म रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.