हेटौँडा । हेटौँडाको मुख्य बजारभित्र मंसिर २० गतेदेखि सवारीआवागमन रोक लगाइने भएको छ । बजार क्षेत्रमा हुने सडक विस्तार कार्यलाई सहज बनाउने उद्देश्यले डिभिजन सडक कार्यालयले वैकल्पिक बाइपास मार्ग तयार गरी उक्त बजार क्षेत्रमा सवारी आवागमनमा रोक लगाइने भएको हो ।
बुधबार डिभिजन सडक कार्यालयका प्राविधिक र प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्ग निरीक्षण गरेका थिए । निरीक्षणपछि आवश्यक मर्मतसम्भार गरी सवारी वैकल्पिक मार्गबाट सञ्चालन हुने व्यवस्था मिलाइने भएको हो ।
पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्वतर्फ जाने सवारीलाई राप्ती किनार, रातोमाटे, मदनभण्डारी लोकमार्ग र कान्तिलोकपथमार्ग हुँदै कमाने हुँदै रातोमाटे निस्कने वैकल्पिक मार्ग तय गरिएको छ । २० गते अगावै बाइपास मार्गको मर्मत कार्य सकाएर मुख्यबजारमा सवारी रोक्ने तयारी पूरा गरिने डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए ।
डिभिजन सडक कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्ममा रहेका स्थायी–अस्थायी संरचना हटाउन आग्रह गरेको छ ।



































