तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

हेटौंडा । तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा बिशेष प्रिमिइर शो प्रदर्शन हुने भएको छ ।

शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोली तथा कलाकारहरूले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक सिताराम गोलेले ‘ह्याङ तामाङ’ तामाङ रितिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोसँग प्रस्तुत गर्ने बताउनु भएको छ ।

चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङ लगायतका क्षेत्रमा गरिएको जानकारी दिनुभयो । नायक स्याङ्तानले विभिन्न भौगोलिक र सांस्कृतिक स्थानहरूमा गरिएको छायांकनका कारण चलचित्रले तामाङ जातिको जीवनशैलीलाई अझ प्रामाणिक रूपमा प्रस्तुत गर्न सकेको बताउनुभएको छ ।

निर्माण पक्षका अनुसार चलचित्र निर्माणमा ३०–३५ लाख रुपैयाँ खर्च भएको छ । चलचित्रमा ख्याती प्राप्त कलाकारहरूको समेत सहभागिता रहेको छ । अभि लामा, अनिता गोले, निर्मला मोक्तानलगायतका कलाकारले चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तामाङ समुदायका चर्चित कलाकारहरूको उपस्थिति बनेको यस चलचित्रले सांस्कृतिक पक्षलाई मात्र नभई मनोरञ्जन र सामाजिक सन्देशलाई पनि प्राथमिकता दिएको निर्माण टोलीको भनाइ छ ।

चलचित्रको निर्देशन निमा लामाले गर्नुभएको छ भने सह–निर्देशन प्रबल लामाले गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण टोलीले हेटौंडामा हुने प्रदर्शनपछि चलचित्रलाई बागमती प्रदेशका अन्य जिल्लाहरूमा क्रमिक रूपमा सार्वजनिक गर्दै लैजाने योजनासमेत प्रस्तुत गरे। स्थानीय समुदाय, तामाङ संघसंस्था तथा युवा कार्यकर्ताहरूले चलचित्रलाई उत्तिकै उत्साहका साथ स्वागत गर्ने अपेक्षा व्यक्त गरिएको छ । आगामी मङ्सिर २० गते ओम्याक्स हलमा हुने प्रदर्शनलाई उद्देश्य बनाएर निर्माण टोली अहिले प्रचारप्रसारमा व्यस्त रहेको छ । तामाङ कला, संस्कृति र कथामा चासो राख्ने दर्शकहरूका लागि ‘ह्याङ तामाङ’ एक महत्वपूर्ण सिनेम्याटिक अनुभव हुने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.