आज स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवस मनाइँदै

स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको आज ३५औं स्मृति दिवस मनाइँदैछ ।
काठमाण्डौको किलागलमा १९९६ साल असोज १८ गते जन्मनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पाउनुभएको छ ।
२०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि गोपालले गायन यात्रालाई निरन्तरता दिनुभयो ।
उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५,नेपाली चलचित्रका गीतमा डेढ दर्जन र नेपाल भाषाका पनि गीत गाउनु भएको छ । २०१३ सालमा दुर्गालाला श्रेष्ठको नाटकबाट दृष्टिविहीन व्यक्तिको भूमिकामा अभिनय गर्दै रंगमञ्चमा प्रवेश गर्नुभएका उहाँ २०१८ साल पछि गायनमा सक्रिय हुनु भएको थियो ।
२०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाउनु भएको थियो ।
यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।
नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अजरअमर छन् ।  मूर्धन्य कलाकार नारायणगोपालको निधनपछि उहाँकै निवास महाराजगञ्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उहाँको स्मरण गर्दैछ ।
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.