मकवानपुरको पश्चिम भेगमा पर्ने कैलाश र राक्सिराङका पहाड पाखामा कहिल्यै नसुक्ने एउटा कथा थियो गाँजा र अफिमको । कैलाश र
राक्सिराङ गाउँपालिकाको नाम लिँदा धेरैको दिमागमा यही शब्द घुम्थ्यो । खेती भनेकै त्यही, आम्दानी भनेकै त्यही, अनि जोखिम भनेकै त्यही । त्यही जोखिमले यहाँका कयौँ घरका पुरुषहरूलाई जेलको कठघरामा पुर्याएको छ । घरमा महिला, बालबालिका र बुढाबुढी मात्रै बाँकी रहने, अनि जिन्दगी बिस्तारै बोझिलो हुँदै जाने । तर अहिले ती पाखाहरूको रङ फेरिँदैछ, कथाको धार मोडिँदैछ ।
कैलाश गाउँपालिका–९ को एक बिहान खेत जोतिसकिएको छ । माटोबाट गोठे मलको गन्ध आउँछ । ५५ वर्षीया राधा रिजाल खेतका गह्रा छुट्याउँदै छिन् । यही खेतमा पहिले धान फल्थ्यो, तर अब उनले योजना बदलेकी छन् । तीन गह्रामा तोरी, एउटामा आलु । हाते ट्याक्टरको आवाज खेतभरि गुन्जिरहेको छ । छिमेकीको सहयोगले जोतिएको यो खेत राधाको नयाँ आत्मविश्वासको प्रमाण हो ।
खेतको डिलमा उभिँदै उनी भन्छिन्, ‘छिटो धनी हुने लोभले मानिसले गाँजा, अफिम रोप्छ । तर पेट भर्न अन्न चाहिन्छ, जिन्दगी चलाउन तरकारी पनि काफी हुन्छ ।ु उनका शब्दमा पछुतोभन्दा अनुभव बोल्छ । गत वर्ष यही गह्रोमा आलु रोपेर बेचेकी थिइन् । यसपालि पनि त्यही भरोसा छ । जोखिम होइन, श्रमको फल खान पाउने आशा उनमा देखिन्छ ।
थोरै तल झर्दा मेनुका थोकरको हरियो संसार भेटिन्छ । प्लास्टिकको ग्रिन हाउस भित्र लोकल काँक्रो लहलह छ । कतै अकबरे खुर्सानी राताम्मे हुँदैछ, कतै काउली टिप्न मिल्ने भएको छ । छेउकै खेतमा धान झार्न १० जना खेताला व्यस्त छन् । मेनुकाको दैनिकी अहिले निकै व्यस्त छ, तर त्यो व्यस्ततामा डर होइन, सन्तोष मिसिएको छ ।

‘पहिले हामीलाई अरू केही आउँदैनथ्यो, उनी भन्छिन्, ‘सबैले जस्तै हामीले पनि गाँजा लगायौँ । तर गाउँपालिकाले दिएको ग्रिन हाउसपछि उनको सोच फेरियो । ‘यहाँ जे रोपे पनि फल्छ । गाँजा रोप्नै पर्छ भन्ने रहेनछ । तरकारी त ४५ दिनमै आम्दानी दिन थाल्छ, गाँजाको पैसा कुर्न वर्षदिन लाग्थ्यो ।’
आज मेनुकाको परिवार मात्र होइन, माइती र छिमेकीहरू पनि यही बाटोमा हिँडिरहेका छन् ।
केही वर्षअघिसम्म कैलाशका पाखोबारीमा हरियाली भन्नासाथ गाँजा सम्झिन्थे मानिसहरू । सडक नहुँदा ती भारी बोकेर बजार झर्ने क्रममा कयौँ प्रहरीको फन्दामा परे । कतिपय अझै पनि जेलमै छन् । तर अहिले दृश्य फरक छ । पहाडका भिरालो पाखामा पहेँलै तोरी फुलेको छ । कतै धान भित्र्याउने चटारो छ, कतै कोदो पाकेर टिप्न हतार । मुला, रायो, अदुवा, काँक्रो जस्ता नगदेबालीहरूले खेत ढाकेका छन् ।
यो परिवर्तन आफैँ आएको होइन । सडक सञ्जाल, सिँचाइ सुविधा र बजारको पहुँचले यहाँको जीवनशैली नै उल्ट्याइदिएको हो । कैलाश गाउँपालिकाले अवैध लागुऔषधको खेती छोडाउन हरेक वर्ष कृषि र पशुपालनका नयाँ योजना ल्याइरहेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान भन्छन्, ‘पहिले गाँजा र अफिम सामान्य जस्तै थियो । तर अहिले धान, मकै र बेमौसमी तरकारी रोप्नुपर्छ भन्ने सोच बलियो बनेको छ ।’
उनका अनुसार, १२ महिना नै सडक चल्ने सुनिश्चित भएपछि व्यावसायिक खेतीतर्फ आकर्षण बढेको हो ।
हेटौंडाबाट ४५ किलोमिटर टाढा रहेको यो गाउँमा कहिल्यै पनि वर्षभरि सडक चल्दैनथ्यो । उत्पादन बजार पुर्याउने चिन्ताले किसान हतोत्साहित हुन्थे । तर अहिले चुनिया–नामटार–कालिकाटार–भार्ता सडकखण्ड कालोपत्रेको अन्तिम चरणमा पुगेको छ । यो सडक केवल गाडी चल्ने बाटो मात्र होइन, अवैधताबाट वैधतामा फर्किने जीवनको मार्ग बनेको छ ।
आज कैलाशका पाखाहरूले डर र अपराधको होइन, श्रम, आत्मनिर्भरता र आशाको नयाँ कथा सुनाइरहेका छन । गाँजा र अफिमको छायाबाट बाहिर निस्कँदै गरेको यो गाउँ अब अन्न र तरकारीको उज्यालोतर्फ
लम्किरहेको छ ।
यसमा स्थानिय सरकारले पनि भरपुर साथ दिइरहेको छ । सडक सुचारु भएपछि गाँजा–अफिमजस्ता अवैध लागुऔषधका बाली त्यागेर स्थानीयहरू अन्नबाली र तरकारीखेतीतर्फ फर्किरहेका छन्, जसले उनीहरूलाई स्वावलम्बी बन्न सहयोग पुर्याइरहेको छ । बजार पहुँच बढेसँगै कृषि नै रोजगारी र आयको मुख्य आधार बन्दै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।



































