नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावना बोकेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पार्टीको नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको बताए ।
अध्यक्ष ओलीले पार्टीभित्र केही समय–समयमा देखिएका समस्यालाई चिन्नु आवश्यक भएको र आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने दाबी गरे । उनले नेताहरूलाई पार्टीको विधान तथा दोस्रो महाधिवेशनले तय गरेको वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीतिअनुसार एकमत भएर अघि बढ्न सचेत गराए ।
‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्या समय(समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरू कुनै पनि प्रकट नहुन भन्ने कामना गर्दछौँ । हाम्रो एक आवाज हुनुपर्दछ,’ ओलीले भने ।
ओलीले पार्टीका नेता र कार्यकर्तालाई टोल(टोलमा सुरक्षा समिति गठन गरी जनताको सुरक्षामा सक्रिय रहन निर्देशन पनि दिए ।
‘दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र, ती नीतिहरूमा एकस्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ,’ ओलीले भने ।






















































