सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क साबिककै दरमा कायम गर्न निर्देशन दिनुभएको हो ।

मन्त्रीस्तरीय निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले अब पुनः ६ हजार ५ सय रुपियाँमै स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् । यसअघि श्रम मन्त्रालयले स्वास्थ्य परीक्षणको दायरा विस्तार गर्दै शुल्क ९ हजार ५ सय रुपियाँ निर्धारण गरेको थियो ।
श्रम मन्त्रालयले गत ३० कात्तिकमा वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने उद्देश्यसहित ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्दै शुल्क बढाएको थियो । तर, उक्त निर्णयपछि श्रमिक, वैदेशिक रोजगार व्यवसायी संघलगायत सरोकारवाला पक्षबाट चर्को विरोध भएको थियो ।

श्रममन्त्री भण्डारीका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि नयाँ मापदण्ड खारेज गर्ने निर्णय गरिएको हो । ‘स्वास्थ्य परीक्षण शुल्क वृद्धि श्रमिक हितअनुकूल नभएको भन्दै निरन्तर गुनासो आइरहेको थियो’, मन्त्री भण्डारीले भन्नुभयो– ‘श्रमिकको आर्थिक बोझलाई मध्यनजर गर्दै साविककै व्यवस्थामा फर्काइएको हो ।’

मन्त्रालयको ३० कात्तिकको निर्णयअनुसार ९ हजार ५ सय रुपियाँ तोकिएपछि श्रमिकमाथि अनावश्यक आर्थिक भार थपिएको भन्दै व्यापक असन्तुष्टि देखिएको थियो । विशेषगरी न्यून आय भएका श्रमिकका लागि शुल्क वृद्धि ठूलो समस्या बनेको सरोकारवालाहरूको भनाइ थियो । वैदेशिक रोजगार व्यवसायी संघले समेत शुल्क वृद्धिले वैदेशिक रोजगारी प्रक्रियालाई थप जटिल बनाउने र अवैध अभ्यासलाई प्रोत्साहन गर्न सक्ने चेतावनी दिएको थियो । संघले स्वास्थ्य परीक्षणको नाममा हुने अनावश्यक खर्च नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै आएको थियो ।

श्रम मन्त्रालयका अनुसार अब स्वास्थ्य परीक्षण गर्ने सूचीकृत स्वास्थ्य संस्थाले साविककै दरमा परीक्षण सेवा उपलब्ध गराउनुपर्नेछ । मन्त्रालयले निर्णय कार्यान्वयनमा कडाइ गरिने र तोकिएको शुल्कभन्दा बढी रकम लिएको पाइए कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

सरकारको पछिल्लो निर्णयलाई श्रमिक हितमा सकारात्मक कदमका रूपमा हेरिएको छ । श्रमिक अधिकारकर्मीहरूले शुल्क घटाउने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले स्वास्थ्य परीक्षणको गुणस्तर सुनिश्चित गर्दै पनि श्रमिकमाथि आर्थिक बोझ नपर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.