मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी युनिटहरूले पछिल्ला तीन महिनामा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (जसमध्ये ९ वटा गाई–गोरु) सहित ६ वटा सवारी साधन नियन्त्रणमा लिएका छन्। सोही अवधिमा चौपाया तस्करीमा संलग्न १० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
प्रहरीका अनुसार विभिन्न स्थानमा सवारी साधन रोकी गरिएको नियमित चेकजाँचका क्रममा अवैध रूपमा चौपाया ओसारपसार भइरहेको पाइएको हो।
नियन्त्रणमा लिइएका चौपाया, सवारी साधन तथा व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पशुसेवा कार्यालय हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ। सार्वजनिक विवरणअनुसार, उक्त अवधिमा गरिएका ६ वटा कारबाहीमध्ये ३ घटनामा मुद्दा दर्ता गरिएको छ भने बाँकी घटनामा सम्बन्धित व्यक्तिहरूलाई जरिवाना तिराएर कारबाही गरिएको छ।
अवैध चौपाया ओसारपसार र पशु कल्याणविरुद्धका गतिविधि नियन्त्रण गर्न आगामी दिनहरूमा पनि सवारी चेकजाँच तथा निगरानी कार्यलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



































