एक निर्णय, एक ढोका र ५१ जीवनको पुनर्जन्म

काठमाडौँबाट साँझ ७ बजे उडेको बुद्ध एयरको विमान राति करिब ९ः४५ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेमा चिप्लियो। जहाज भित्र यात्रुहरू सास थामेर बसेका थिए। एकाएक गड्याङगड्याङ आवाज आयो, जहाज असामान्य रूपमा हल्लिन थाल्यो, धुवाँको मुस्लो केबिनभित्र पस्न थाल्यो। केही सेकेन्डमै जहाजभित्र त्रास फैलियो—रुवाइ, चिच्याहट र मृत्युको डर।

त्यही क्षण १४ नम्बर सिटमा बसेका उमेश मोक्तान तामाङ उठे।

उमेशका अनुसार जहाज आकाशमै हुँदा पनि अस्वाभाविक रूपमा हल्लिरहेको थियो। ‘पुरानो जहाज भएकाले होला भनेर वास्ता गरिएन,’ उनी सम्झन्छन्। तर अवतरणका बेला आएको ठोक्किने आवाज र धुवाँले परिस्थिति गम्भीर भएको संकेत दिइसकेको थियो।

एयर होस्टेज पनि आत्तिएकी थिइन्। ‘नआत्तिनुस्’ भन्ने आवाज कमजोर हुँदै गइरहेको थियो। यात्रुहरू कोही रोइरहेका थिए, कोही झ्यालमा टाउको ठोकिरहेका थिए। ‘एकै मिनेटमा जहाज कालो भयो, गन्हाउन थाल्यो,’ उमेश भन्छन्, ‘त्यो बेला बाँचिन्छ जस्तो लागेको थिएन।’

त्यसै क्षण उनले निर्णय गरे—जोखिमपूर्ण तर निर्णायक।

माथिल्लो ढोका बन्द थियो। तामाङले तलपट्टिको इमर्जेन्सी ढोकातिर दौडिए। ‘ढोका खुल्छ भन्ने पनि पक्का थिएन,’ उनी भन्छन्, ‘तर केही न केही गर्नैपर्थ्यो।’ उनले ढोकामा एकपछि अर्को गर्दै लात्ती हाने। अन्ततः—ढोका खुल्यो।

त्यो ढोका केवल फलामको पाना थिएन, त्यो ५१ यात्रुको लागि जीवनतर्फको बाटो बन्यो।

ढोका खुलेसँगै यात्रुहरू एक–एक गर्दै हाम फाल्न थाले। वृद्ध, महिला, बालबालिका—कोही पनि पछि परेनन्। धुवाँले भरिएको जहाजभित्र एक सेकेन्ड बस्नु पनि जोखिमपूर्ण थियो। केही यात्रु पछाडिको ढोका फुटाएर पनि निस्किए। तर मुख्य रूपमा इमर्जेन्सी ढोका खुलेपछि नै सबैले सुरक्षित रूपमा जहाज छोड्न सके।

त्यही जहाजमा सवार झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोमदेन उमेशलाई ‘भगवानजस्तै’ ठान्छन्। ‘उहाँ त्यहाँ नहुनु भएको भए के हुन्थ्यो कल्पना गर्न सकिँदैन,’ उनी भन्छन्, ‘धुवाँ भित्र पसिसकेको थियो, निसासिएर सबै त्यहीँ मर्ने अवस्था थियो।’

पाँचथरको फालेलुङ–४ घर भएका उमेश हाल बिर्तामोडमा बस्दै आएका छन्। राष्ट्रिय परिचय पत्र बनाउन र अन्य कामका लागि काठमाडौँ पुगेका उनी वैदेशिक रोजगारीको तयारीमा छन्। शुक्रबारको त्यो यात्रा सामान्य थियो, तर उनी स्वयं असामान्य साहसको पात्र बने।

घटनापछि उनी अझै नर्मस छन्। ‘सपना जस्तो लाग्दैछ,’ उनी भन्छन्, ‘तर एयर होस्टेजको कुरा नसुनेर पनि मैले ठीकै गरेँ जस्तो लाग्छ। त्यो ढोका नखुलेको भए कोही बाँच्ने थिएन होला।’

कहिलेकाहीँ नायक बन्न कुनै पद, तालिम वा पहिचान चाहिँदैन। आपत्को घडीमा लिइएको एक निर्णय, हानिएको एक लात्ती र देखिएको मानवीय साहसले ५१ जीवनलाई नयाँ बिहान दिएको यो घटना त्यसैको उदाहरण बनेको छ।(यो खबर हामीले खबरहवबाट साभार गरेका हौँ ।)

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.