मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो गाडी आज साँझ सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा घाइते ९ जनामध्ये ६ जनालाई हेटौंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकहरूको हालसम्म नाम र ठेगाना खुल्न सकेको छैन।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोली करिब साँझ साढे पाँच बजे दुर्घटनास्थल पुगेको थियो। सुमोमा सवार सबै ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएकोमा हाल ३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुमो गाडीमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक सवार रहेको बताइएको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ। उक्त स्थान इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




































