जेनजी आन्दोलनको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ।
आयोगले आन्दोलनका क्रममा मेयर शाहले प्रदर्शनकारीलाई पानी वितरण गरी सहयोग गरेको र सामाजिक सञ्जालमार्फत आन्दोलनको दिशा परिवर्तन गर्न उक्साएको आरोपमा स्पष्टीकरण मागेको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार फेसबुकमार्फत दिएको निर्देशन र तत्कालीन प्रधानमन्त्रीको राजीनामाबारे गरेको दाबीमा केन्द्रित प्रश्नावली पठाइएको छ।
यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले मेयर शाहविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाही माग गर्दै उजुरी दिएका थिए। आयोगले प्रारम्भमा उजुरी प्रहरीमा फर्काएको भए पनि अहिले ती उजुरी तामेलीमा राखिएका छन्। आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबाट बयान लिसकेको छ।
साथै आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि लिखित प्रश्न पठाएको भए तापनि अहिलेसम्म जवाफ आएको छैन। आयोगले माघ ९ गतेभित्र मेयर, देउवा र प्रचण्डका जवाफ सहित अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ।






















































