जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका क्षेत्रका जोखिमपूर्ण घर-टहरामा कुनै पनि किसिमको व्यापार वा व्यवसाय सञ्चालन नगर्न सर्तसहित सूचना जारी गरेको छ। उक्त सूचना मंगलबार सार्वजनिक गरिएको हो।
सडक डिभिजन हेटौँडाले मंसिर ५ मा प्रकाशित सूचनाअनुसार, हेटौँडाबाट बुद्धचोक हुँदै सामरी पुलसम्मको सडक विस्तार कार्य भइरहेको छ। मंसिर २० गतेदेखि उक्त सडकको सीमाभित्र पर्ने घर-टहराहरू भत्काइसकिएका छन्। यसै सन्दर्भमा सर्वोच्च अदालतको अघिल्लो आदेशअनुसार, हालका लागि सडक विस्तार कार्य स्थगित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तर, प्रशासनका अनुसार, अतिक्रमण गरी बनाइएका संरचनामा डोजर र एक्साभेटर प्रयोग गर्दा भत्किएका घर-टहरामा अहिले पनि व्यक्तिहरू र व्यवसाय सञ्चालन भइरहेका छन्, जसबाट जनधनको जोखिम उत्पन्न हुन सक्ने खतरा रहेको छ।
यस कारण, प्रशासनले सबै व्यवसायी र घरधनीलाई सचेत गराउँदै भनेको छ, “जोखिमपूर्ण संरचनाभित्र कुनै पनि प्रकारको व्यापार सञ्चालन नगर्न र संरचना व्यवस्थापनमा खटिएका कामदारहरूको सुरक्षा सुनिश्चित गर्न उच्च प्राथमिकता दिनुहोस्।” साथै, व्यवसाय सञ्चालन गर्दा कुनै दुर्घटना भएमा यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने चेतावनी दिइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै सबै सरोकारवालालाई जानकारी गराइएको प्रशासनले जनाएको छ।
हेर्नुहोस् सूचना ।























































