मकवानपुरमा निर्वाचन प्रहरी भर्ती खुल्यो, भर्ना हुनेले पाउने सुविधा सार्वजनिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा १ हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार आजदेखि आवेदन प्रक्रिया सुरु गरिएको हो। इच्छुक उम्मेदवारले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनमा पनि आवेदन लिइनेछ। कुल भर्नामध्ये कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।
योग्यता के–के ?
गृह मन्त्रालयबाट स्वीकृत मापदण्डअनुसार उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, भर्नाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने मापदण्ड छ।
शारीरिक मापदण्डतर्फ पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छाती ३१–३३ इन्च, ५० केजी तौल आवश्यक छ। महिलाको हकमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको हुनुपर्नेछ।
कसलाई प्राथमिकता ?
निर्वाचन प्रहरी भर्नामा
– नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट अवकाश प्राप्त,
– पूर्व बनरक्षक,
– सेना/प्रहरी भर्नाको शारीरिक तथा स्वास्थ्य परीक्षण उत्तीर्ण,
– विगतका निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेका,
– विदेशी सुरक्षा निकायबाट सेवा निवृत्त नेपाली नागरिक
लाई प्राथमिकतामा राखिनेछ।
कति दिन खटिनुपर्छ ?
निर्वाचन प्रहरीलाई १० दिनको तालिम र ३० दिनको फिल्ड ड्युटी गरी कुल ४० दिन खटाइनेछ। आवश्यकता अनुसार कार्यअवधि घटबढ हुन सक्ने व्यवस्था छ।
के–कस्ता सुविधा पाउँछन् ?
निर्वाचन प्रहरीलाई प्रहरी/सशस्त्र प्रहरीका जवान सरहको सुविधा प्रदान गरिनेछ।
– ४० दिनको तलब (दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले करिब ३४ हजार रुपैयाँ),
– जिल्लाअनुसार तोकिएको रासन भत्ता,
– ८४६ रुपैयाँ यातायात भत्ता,
– १,२०० रुपैयाँ खाजा खर्च,
– मौसमअनुसार पोशाक भत्ता उपलब्ध गराइनेछ।
सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ। कर्तव्य पालनाका क्रममा घाइते वा मृत्यु भएमा सरकारले तोकेअनुसार क्षतिपूर्ति दिइने व्यवस्था छ।
निर्वाचनमा खटिन नगई गैरहाजिर हुने वा जिम्मेवारी पूरा नगर्नेले कुनै पनि सुविधा नपाउने प्रहरी कार्यालयले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.