देशकै लामो बृहत् चक्रपथ भरतपुरमा सञ्चालनमा

भरतपुर महानगरपालिकामा देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ आज औपचारिक रूपमा सञ्चालनमा आएको छ। एक विशेष कार्यक्रमबीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गर्नुभयो।

महानगरको गौरवको आयोजना मानिएको ८८.६ किलोमिटर लामो यो चक्रपथ निर्माण कार्य सात वर्षअघि शुरू भएको थियो। उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा पछिल्ला वर्षहरूमा उल्लेखनीय भौतिक पूर्वाधार विकास भएको उल्लेख गर्दै चक्रपथलाई महानगरको प्राथमिक परियोजनाका रूपमा अघि बढाइएको बताउनुभयो।

उहाँका अनुसार चक्रपथलाई अहिले राष्ट्रिय राजमार्ग ९ (एनएच–७७०) का रूपमा विकास गरिएको छ। सडकको चौडाइ ३० मिटर कायम गर्ने निर्णय गरिएको र वडास्तरबाट आएका सुझाव समेट्दै कार्यान्वयन गरिएको उहाँले स्पष्ट पार्नुभयो।

उपमेयर चित्रसेन अधिकारीले चक्रपथले भरतपुरको आर्थिक, सामाजिक र भौतिक विकासमा दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गर्नुभयो। महानगरपालिका सन्तुलित विकासको लक्ष्यसहित अघि बढिरहेको उहाँको भनाइ थियो।

संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको चक्रपथको शिलान्यास २०७५ साल असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणगढको पुलचोकमा गर्नुभएको थियो। चक्रपथ नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्ने र गोन्द्राङ हुँदै पटिहानी–जगतपुर भएर पुनः गोलाघाटमै जोडिने मार्ग रहेको छ। केही खण्ड राष्ट्रिय राजमार्गसँग पनि जोडिने छन्।

यसै अवसरमा भरतपुर महानगरको केन्द्र भाग भएर बग्ने ३०.२ किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण अन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न भएका संरचनाहरूको समेत उद्घाटन गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.