प्रदेशस्तरीय नीति तथा योजनालाई जनमुखी बनाउने लक्ष्यसहित हेटौंडामा प्रादेशिक परामर्श सम्पन्न

मकवानपुरको हेटौंडामा प्रदेशस्तरीय नीति तथा योजनाहरूलाई थप प्रभावकारी, समावेशी र जनउत्तरदायी बनाउने उद्देश्यले बिहीबार प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश सरकारको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामुदायिक तथा वन समुदायका अगुवा, खेलकुद संघ, उद्योग वाणिज्य महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, वन विज्ञान अध्ययनरत विद्यार्थी, विज्ञ तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, वातावरण संरक्षणलगायत महत्वपूर्ण विषयमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले प्रदेशले सामना गरिरहेका वर्तमान समस्या, चुनौती तथा ती समाधानका सम्भावित उपायबारे आफ्ना सुझाव र धारणा राखेका थिए।

प्रदेश सरकारका प्रतिनिधिहरूले परामर्श कार्यक्रममार्फत प्राप्त सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा योजनाहरू निर्माणको क्रममा समेटिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले नागरिकको प्रत्यक्ष सहभागिता बिना दिगो र समावेशी विकास सम्भव नहुने धारणा समेत व्यक्त गरे।

कार्यक्रमले प्रदेश सरकार र नागरिकबीच आपसी समन्वय, सहकार्य र विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। सहभागीहरूले यस्ता परामर्श कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नीति निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अझ मजबुत बनाउन जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.