पर्साकी आयुषा कापरी बनिन् नेपालकै कान्छी महिला पाइलट

पर्सा जिल्लाकी आयुषा कापरीले नेपाली उड्डयन क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। कम उमेरमै पाइलटको अध्ययन पूरा गर्दै उनले नेपालकै कान्छी महिला पाइलटको पहिचान बनाएकी हुन्। परम्परागत रूपमा पुरुषको वर्चस्व रहँदै आएको उड्डयन क्षेत्रमा उनको सफलतालाई नेपाली महिलाको आत्मविश्वास र क्षमताको बलियो उदाहरणका रूपमा लिइएको छ।

वि.सं. २०६१ साल असार १५ गते वीरगन्जमा जन्मिएकी आयुषाले बाल्यकालमै आकाशमा उड्ने सपना बुनेकी थिइन्। सोही सपनालाई पछ्याउँदै उनले संयुक्त राज्य अमेरिका पुगेर अन्तर्राष्ट्रियस्तरको पाइलट तालिम सफलतापूर्वक सम्पन्न गरिन्। आधुनिक प्रविधि, कडा अनुशासन र उच्च सुरक्षा मापदण्डका बीच उनले आफूलाई दक्ष पाइलटका रूपमा स्थापित गरिन्।

उड्डयन पेशा उच्च जिम्मेवारी, प्राविधिक ज्ञान र मानसिक सन्तुलन माग्ने क्षेत्र हो। यस्ता चुनौतीहरूका बाबजुद कम उमेरमै अन्तर्राष्ट्रिय तालिम पूरा गर्नु आयुषाको निरन्तर मेहनत, अनुशासन र दृढ इच्छाशक्तिको प्रतिफल हो।

सामान्य परिवारमा हुर्किएकी आयुषाका पिता बिरेन्द्र कापरी नेपाल आयल निगममा बाउजर अपरेटरका रूपमा कार्यरत छन्। सीमित आर्थिक स्रोतका बाबजुद परिवारको निरन्तर साथ र प्रेरणाले उनको यात्रालाई मजबुत बनाएको उनले बताइन्। साथै, मामा उमेश धिमालको मार्गदर्शनले उड्डयन क्षेत्रमा अघि बढ्न थप हौसला दिएको उनको भनाइ छ।

भौगोलिक रूपमा चुनौतीपूर्ण नेपालमा दक्ष र जिम्मेवार पाइलटको आवश्यकता बढ्दै गएको सन्दर्भमा आयुषा कापरीको सफलता विशेष महत्वको मानिन्छ। उनको उपलब्धिले उड्डयन क्षेत्रमा महिला सहभागिता विस्तार हुनुका साथै नयाँ पुस्तालाई पनि प्रेरणा दिएको छ।

आयुषाले केवल विमान उडाउने मात्र होइन, देशभरका हजारौँ युवतीका सपना र आत्मविश्वासलाई पनि उचाइ दिएकी छन्। संघर्ष, परिवारको साथ र दृढ संकल्प भए असम्भव देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने सन्देश उनको जीवन यात्राले दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.