भाेलि मङ्गलवार रातिदेखि नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने: माैसमविद्

भोलि मंगलबार रातिदेखि नेपालभर वर्षा र हिमपात गराउने मौसम प्रणाली सक्रिय हुने मौसमविद्हरूले बताएका छन्। पश्चिमतर्फबाट भित्रिने उक्त प्रणालीले सुरुमा गण्डक क्षेत्रलाई प्रभाव पार्ने र बुधबार बिहानसम्म काठमाडौं उपत्यका आसपास पुग्ने अनुमान गरिएको छ।

मौसम तथा पर्यावरणविद् उज्जवल उपाध्यायका अनुसार यस प्रणालीका कारण काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ भने अधिकांश हिमाली भूभागमा हिमपात हुन सक्छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका दुई हजार मिटरभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना बढी रहेको उहाँले जानकारी दिनुभयो।

विशेषगरी दार्चुला, डडेल्धुरा, बझाङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला, मुस्ताङ र मनाङ जिल्लामा भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

तराईमा भने पर्सादेखि पूर्वी भूभाग र पहाडी क्षेत्रमा सिन्धुलीदेखि इलामसम्म फैलिएको चुरे तथा महाभारत क्षेत्रमा वर्षाको सम्भावना न्यून रहने बताइएको छ। बाँकी स्थानमा सामान्यदेखि मध्यम खालको वर्षा हुने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने विवरणअनुसार बिहीवारसम्म मौसम बदली रहने र त्यसपछि मात्र घाम लाग्ने सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.