आजदेखि सिनेमा हलमा ‘आ बाट आमा’ तथा ‘द ब्ल्यू लाइट’

फ्राइडे रिलिज अन्तर्गत आज माघ १६ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘आ बाट आमा’ तथा ‘द ब्ल्यू लाइट’ को सावर्जनिक प्रदर्शन प्रारम्भ भएको छ । लामो समयदेखि प्रचार–प्रसारमा व्यस्त यी दुबै फिल्महरुलाई क्यूएफएक्स लगायत देशका अधिकांश सिनेमाहरुले राम्रो शो उपलब्ध गराएका छन् ।

‘आ बाट आमा’ ले केन्दीय चलचित्र जाँच पास समिति ९सेन्सर बोर्ड० बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । त्यसैले यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पास भएकोमा खुशी व्यक्त गर्दै यसले हरेक उमेरका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताएका छन् । यो फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिमरन पन्त, गजित विष्ट, बेगम नेपाली आदि कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै लोकप्रिय रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ भने फिल्मका गीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गम्भीर विष्ट तथा दिलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्म अभिमन्यू निरवीले लेखेका हुन् भने संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् ।

यो फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टीजर सम्पादनको काम साहिल खानले गरेका छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ ।

आज शुक्रवारदेखि नै प्रदर्शनमा आएको फिल्म ‘द ब्ल्यू लाइट’ मार्फत अभिनेत्री बेनिशा हमाल अभिनेत्रीबाट निर्मात्री बनेकी छिन् । शहिद दिवसको अवसर पारेर दर्शकमाझ आएको यो फिल्ममा केही अनुभवी कलाकारको अभिनय देख्न पाइने छ । यो फिल्ममा अभिनेत्री बेनिशा हमालसंगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, गृष्मा कटुवाल, सहारा शर्मा आदि कलाकारहरुले अभिनय गरेका छन् ।

यो फिल्मको टीजर, गीत, ट्रेलर आदि प्रचार सामग्रीले दर्शकमाझ राम्रो हाइप बनाइसकेकाले फिल्मका निर्देशक बलिराम चौहान यसको व्यवसायिक सफलताप्रति ढुक्क देखिन्छन् । चौहानको डेब्यू निर्देशनमा बनेको यो फिल्ममार्फत उनले नयाँ विषयवस्तुलाई दर्शकमाझ पस्किने जमर्को गरेका छन् । यसअघि विभिन्न फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका चौहानको पछिल्लो फिल्म ‘बलिदान’ गत दशैँमा प्रदर्शन भएको थियो ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्ल्यू लाइट’ लाई स्काइफल पिक्चर्सले प्रस्तुत गरेको छ । फिल्ममा सस्पेन्स विषयवस्तु समावेश छ । गम्भीर तथा जटिल विषयवस्तुमा आधारित फिल्म रुचाउने दर्शकका लागि ‘द ब्ल्यू लाइट’ विशेष हुन सक्ने निर्माण पक्षको भनाइ रहँदै आएको छ ।

यो फिल्ममा अभिनेत्री बेनिशा हमालले फिल्ममा माया नाम गरेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्, जो एक्लोपन तथा कुलतमा फसेकी देखिन्छिन् । फिल्ममा मायाको जीवनमा घटेका रहस्यमय घटनाहरू, प्रेम, धोका र बदलाको कथालाई चित्रण गरिएको छ ।

फिल्ममा अर्पण थापाको रहस्यमयी भूमिका तथा प्रहरी सोधपुछका दृश्यहरूले सस्पेन्सलाई थप उचाइ प्रदान गरेको छ । फिल्म भित्र विक्रम नाम गरेका पात्रको वरिपरि घुमेको रहस्य तथा ‘द ब्ल्यू लाइट’ को अर्थ के हो भन्ने कुराले दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्न सक्ने सम्भावना छ ।

निर्देशक चौहानले आफ्नो फिल्मको विषयवस्तु नयाँ नभए पनि यसको प्रस्तुतिकरणको शैली पृथक भएको दावी गरेका छन् । ‘हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन । तर हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौँ, निर्देशक चौहानको भनाइ छ– ‘फिल्म भित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन् जसले दर्शकलाई एक खालको अनुभव दिन्छ भने आशा गर्दछौँ ।’

‘द ब्ल्यू लाइट’ को सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् भने कार्यकारी निर्मातामा फिल्मका छायाँकारसमेत रहेका नरेन्द्र मैनाली तथा अभिनेत्री बेनिशा हमाल छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.