हेटौंडा — गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला भीमफेदी कारागार तथा हेटौंडा बाल सुधार गृहबाट फरार भएका तीन जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी कारागारबाट फरार भएका जर्वजस्तीकरणी मुद्दाका मकवानपुर बागमती गाउँपालिका–कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान र लागूऔषध मुद्दाका हेटौंडा उपमहानगरपालिका–७ हरियालीका २२ वर्षीय बिशाल गोले पक्राउ परेका हुन्।
यसैगरी, हेटौंडा बाल सुधार गृहबाट फरार भएका लागूऔषध मुद्दासम्बन्धी एक जना बालकलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
माघ १७ र १८ गते विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका तीनै जनालाई पुनः भीमफेदी कारागार र बाल सुधार गृहमा पठाइएको डीएसपी बोगटीले बताए।
उल्लेखनीय छ, जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारको पर्खाल भत्किएपछि करिब ४ सय ४० जना कैदीबन्दी फरार भएका थिए।



































