नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार महेश कुमार बर्तौलाले संसदमा निष्क्रिय रहने नभई जनताको आवाज निर्भीक र प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी अभियान अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाका विभिन्न वडामा आयोजित शुभचिन्तक भेटघाट कार्यक्रममा सहभागी हुँदै बर्तौलाले संसदमा सक्रिय, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्ने स्पष्ट पारे। उनले आफू अगाडि बसेरै सही र गलतको स्पष्ट पहिचान गर्दै बोल्ने सांसद हुने दाबी गरे।
“म संसदमा मौन बस्ने मान्छे होइन, पछाडि बसेर निदाउने पनि होइन,” उनले मतदातामाझ भने, “तपाईंहरूले दिनु भएको मतलाई भरोसामा बदल्ने गरी काम गर्नेछु।”
भेटघाटका क्रममा स्थानीयले विभिन्न विकास र नीतिगत मागहरू अघि सारेका थिए। इन्द्रसरोवर–१ भालुखर्कका तिलक बहादुर नेगीले कृषि उपजको बजारीकरणका लागि ज्यामिरे–गोगने–भालुखर्क–घैयाडाँडा सडक स्तरोन्नति आवश्यक रहेको बताए। वडा नम्बर ३ का उमेश राना मगरले किसानका उत्पादन राज्यले खरिद गर्ने व्यवस्था, शिक्षा विधेयकलाई तार्किक निष्कर्षमा पुर्याउन तथा मालपोत कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्न आग्रह गरे।
यसैगरी स्थानीयले इन्द्रसरोवर क्षेत्रमा रहेको सार्वजनिक गुठी जग्गाको दीर्घकालीन समाधान खोज्न तथा गुठी विधेयकमाथि संसदमा प्रभावकारी रूपमा आवाज उठाउन आग्रह गरेका छन्। काप्राङका कृष्णलाल मुक्तानले शिक्षा क्षेत्रमा सुधार र खानेपानी आयोजनाको निरन्तरतामा ध्यान दिनुपर्ने सुझाव दिए।
स्थानीयका जिज्ञासा र सुझावप्रति प्रतिक्रिया दिँदै बर्तौलाले आफ्नो अघिल्लो ३२ महिनाको कार्यकालमा नीति निर्माणसँगै विपद् उद्धार, राहत तथा भौतिक पूर्वाधार विकासमा सक्रिय भूमिका खेलेको स्मरण गराए।
“मेरो मुख्य जिम्मेवारी नीति निर्माण हो, तर विकासका अपेक्षालाई कहिल्यै ओझेलमा पर्न दिने छैन,” उनले भने, “अधुरा योजना पूरा गर्नु मेरो दृढ संकल्प हो।”
कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले स्थानीय तहबाट सडक, विद्युतीकरण र स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगतिबारे जानकारी दिइन्। एमाले मकवानपुर–२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार चुनावी अभियानलाई अझ प्रभावकारी बनाउँदै लगिएको छ।
भेटघाट कार्यक्रममा समानुपातिक उम्मेदवार मेम्बर लो तामाङ, एमाले प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला कमिटी सदस्य धनवीर स्याङतान, युवा परिचालन प्रमुख निमा लामा, स्थानीय नेता चन्द्र लामा, होम बहादुर थापा र विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो।



































