सर्लाही-जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ को चौथो संशोधनका आधारमा बाबु विदेशी र आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले बताए।
ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट पहिलोपटक नागरिकता जारी गरेको उनले बताए। यससँगै बुबाको पहिचान नखुलेका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको उनको भनाइ छ। यसले जिल्लामा नागरिकताविहीन रहेका धेरै नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
संशोधन ऐनअनुसार दुई हप्ताअघि जिल्लाका २० वटै पालिकामा परिपत्र गरिएको र सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको कँडरियाले बताए।
नागरिकता नहुँदा शिक्षा र सीप भएर पनि रोजगारी पाउन नसक्ने, बैंक खाता खोल्न, सिमकार्ड प्रयोग गर्न नपाउनेजस्ता समस्या अब समाधान हुने विश्वास व्यक्त गरिएको छ।
नागरिकता पाएपछि गुप्ताले आजदेखि आफू आधिकारिक रूपमा नेपाली नागरिक भएको बताए। नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएको सन्तानले आफूलाई नेपाली प्रमाणित गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण रहेको उनको भनाइ छ।















