थाहा नगरपालिका केन्द्रित राप्रपा उम्मेदवार थोकरको घरदैलो अभियान तीव्र

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकरले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा थोकर थाहा नगरपालिका अन्तर्गतका विभिन्न वडामा पुगेर स्थानीय नागरिकसँग संवाद गरिरहेका छन्। पछिल्ला दिनहरूमा उनले थाहा नगरपालिका–७ देउराली भञ्ज्याङ, वडा नं. २ पालुङ, वडा नं. ११ टिष्टुङ तथा नौखण्डे क्षेत्रमा घरदैलो गर्दै मतदाताका समस्या, अपेक्षा र सुझाव संकलन गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा थोकरले आफ्नो राजनीतिक दृष्टिकोण, भावी योजना र प्रतिबद्धता स्पष्ट पार्दै जनताको विश्वास जित्ने प्रयास गरिरहेका छन्। जनताको घरआँगनमै पुगेर सिधा संवाद गर्ने अभियानलाई उनले चुनावी रणनीतिको मुख्य आधार बनाएका छन्।

उम्मेदवार थोकरको सचिवालयका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनी मकवानपुरका गाउँ–टोलमा निरन्तर पुगिरहेका छन्। यसअघि उनले हेटौँडा–१९, मकवानपुरगढी–५ र मनहरी–९ का विभिन्न स्थानमा पनि घरदैलो अभियान सञ्चालन गरिसकेका छन्।

निर्वाचन सचिवालयका संगीन श्रेष्ठका अनुसार थोकरले ‘राष्ट्र, राष्ट्रियता र राजसंस्था संरक्षणका लागि राप्रपालाई मत दिन’ मतदातासमक्ष आग्रह गरिरहेका छन्। उनले राष्ट्रियताको संरक्षण र सुदृढीकरणका लागि राप्रपाको जित आवश्यक रहेको धारणा राख्दै समर्थन मागिरहेका छन्।

मकवानपुरको कैलाश गाउँपालिका–१० (साविक नामटार गाविस, मर्याङकोट) मा जन्मिएका थोकर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्। लामो राजनीतिक अनुभवका कारण उनी आफूलाई जिम्मेवार र परिपक्व उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन्।

थोकरले विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। साथै, पछिल्लो समय देखिएको ‘जेनजी’ आन्दोलनले व्यक्त गरेको भावना र चाहनालाई आत्मसात् गर्दै संसदमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.