आधा शताब्दीको शैक्षिक यात्राः भोजसिद्द माविले स्वर्ण जयन्ती मनाइँदै

मकवानपुर। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–५ मा रहेको श्री भोजसिद्द माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ । विद्यालयले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउन लागेको हो ।
स्वर्ण जयन्ती समारोहलाई भव्य र अर्थपूर्ण बनाउने उद्देश्यले मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । साथै खुला म्याराथन प्रतियोगिता, अभिभावक घ्याम्पो फुटाइ प्रतियोगिता, रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रमसमेत समावेश गरिएको मनहरी गाउँपालिका–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनुका साथै विद्यालयको इतिहास, उपलब्धि र योगदान समेटिएको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिएको छ ।
स्वर्ण जयन्ती समारोहका प्रचार–प्रसार उपसमितिका संयोजक उमेश अधिकारीले विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्‍याउने सबै शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायलाई समारोहमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेतीले विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षा र समग्र शैक्षिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.