नेकपाको अगुवा कार्यकर्ता भेला, विजय गौतमको पक्षमा माहोल बलियो भएको दाबी

मकवानपुर। नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरको बकैया गाउँपालिका–८ बस्तिपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ। कार्यक्रममा स्थानीय मतदाता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको दाबी गरेको छ।

कार्यक्रममा बिक्रम योन्जन र प्रेमबहादुर गोलेको उपस्थितिमा ईन्द्रबहादुर दोङ्गले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। भेलामा सहभागी स्थानीयहरूले बकैया गाउँपालिकाका स्थानीय उम्मेदवार विजय गौतमलाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाएका छन्।

स्थानीय सहभागीहरूले एमाले र कांग्रेसका पुराना नेताहरूले वर्षौंदेखि आश्वासन मात्र बाँडेको आरोप लगाउँदै, चुनाव जितेपछि कतिपय नेताहरू गाउँमा नफर्किएको गुनासो व्यक्त गरेका छन। अब परिवर्तनका लागि युवालाई नेतृत्वमा ल्याउनुपर्ने र विजय गौतम व्यक्तिगत रूपमा योग्य तथा सक्षम उम्मेदवार भएको उनीहरूको धारणा थियो। आफ्नै पालिकाको उम्मेदवार भएकाले चुनावी अभियानप्रति थप उत्साह बढेको उनीहरूले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले आफू यहीँ पढेको, हुर्किएको र कर्मभूमि यही क्षेत्र भएको उल्लेख गर्दै स्थानीय समस्याको समाधान स्थानीय नेतृत्वबाट मात्र सम्भव हुने बताए। उनले यो निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा नभई क्षेत्र र देश रूपान्तरण गर्ने अभियान भएको भन्दै कार्यकर्तालाई घर–घरमा पुगेर परिवर्तनको सन्देश फैलाउन आग्रह गरे।

भेलालाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए।

नेताहरूले संगठनलाई टोल–टोल र घर–घरमा विस्तार गर्दै बाँकी चुनावी समयलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। स्थानीय उम्मेदवार विजय गौतमको पक्षमा जनमत क्रमशः मजबुत बन्दै गएको उल्लेख गर्दै मतदातासँग प्रत्यक्ष संवाद बढाउन कार्यकर्तालाई आह्वान गरिएको थियो।

कार्यक्रममा देखिएको सहभागिता र उत्साहले बकैया क्षेत्रमा विजय गौतमको पक्षमा चुनावी वातावरण थप अनुकूल बन्दै गएको संकेत गरेको नेकपाका नेताहरुले दाबी गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.