नेपालमा क्यान्सर गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा उभिँदै गएको छ। एक अध्ययन प्रतिवेदनअनुसार देशमा हरेक वर्ष २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् भने तीमध्ये १४ हजारभन्दा बढीको मृत्यु क्यान्सरकै कारण हुने गरेको छ।
ग्लोबल क्यान्सर अब्जरभेटरीको पछिल्लो तथ्यांकले नेपालमा बर्सेनि २२ हजार ८ जना क्यान्सरका नयाँ बिरामी थपिने र १४ हजार ७०४ जनाको मृत्यु हुने गरेको देखाएको छ। तथ्यांकले पुरुषको तुलनामा महिलामा क्यान्सरका बिरामीको संख्या बढी रहेको संकेत गरेको छ।
नेपालमा सबैभन्दा बढी देखिने क्यान्सर फोक्सोको हो। महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर उच्च दरमा देखिएको छ। महिलामा भने फोक्सोपछि ब्रेस्ट क्यान्सर र पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको तथ्यांकले देखाएको छ। विशेषगरी महिलामा सबैभन्दा बढी ब्रेस्ट क्यान्सरका बिरामी फेला पर्ने गरेका छन्।
पुरुषतर्फ हेर्दा फोक्सोको क्यान्सरपछि पेटसम्बन्धी र कलेजोसम्बन्धी क्यान्सरको जोखिम उच्च रहेको छ। मृत्युदरका हिसाबले पनि पुरुषमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ भने महिलामा पाठेघरको मुखको क्यान्सरका कारण बढी मृत्यु हुने गरेको देखिन्छ।
यसैबीच, क्यान्सरको उपचार नेपालमै सम्भव रहेको विज्ञहरूले बताएका छन्। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालका सिनियर मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठका अनुसार रोगको सुरुआती चरणमै पहिचान र उपचार सुरु गर्न सके क्यान्सर निको पार्न सकिन्छ।
“नेपालमै क्यान्सर उपचारका लागि आवश्यक जनशक्ति तयार भइसकेको छ,” डा. श्रेष्ठ भन्छन्, “सरकारले उचित व्यवस्थापन गर्न सके र स्वास्थ्य बिमामा महँगो क्यान्सर उपचार समेटिदिए सर्वसाधारणलाई ठूलो राहत मिल्ने थियो।”
उनका अनुसार उपचार सेवा काठमाडौं उपत्यकामा मात्रै केन्द्रित रहेकाले धेरै बिरामी समयमै उपचारमा पुग्न सकेका छैनन्। सेवा विकेन्द्रीकरण गर्न सके क्यान्सर उपचार आम नागरिकको पहुँचमा पुग्ने उनको भनाइ छ। “अधिकांश बिरामी अन्तिम चरणमा मात्रै अस्पताल आउँछन्, जसले उपचार जटिल बनाउँछ,” उनले भने, “समयमै उपचारका लागि पुगे नेपालमै क्यान्सरको उपचार सम्भव छ।”



































