नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बुद्धराज सिन्तानले नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आफू नेतृत्वमा रहेर सक्रिय रूपमा चुनावी अभियानमा लाग्ने बताएका हुन्।
नेविसंघ केन्द्रीय कार्यसमितिले मकवानपुर–२ का लागि तोकेको निर्वाचन संयोजकसमेत रहेका सिन्तानले संगठनलाई पूर्ण रूपमा परिचालित गर्दै कांग्रेस उम्मेदवारको जित सुनिश्चित गरिने बताए। उनका अनुसार विद्यार्थी संगठन पार्टीको अभियानलाई प्रभावकारी बनाउने गरी घरदैलोदेखि प्रचार–प्रसारसम्म सक्रिय रहनेछ।
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल विद्यार्थी संघले देशभर संगठन परिचालनलाई तीव्र बनाएको छ। नेविसंघ विधान २०२७ (संशोधित २०७५) को धारा १२ (५) बमोजिम माघ १७ गते १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन परिचालन समिति गठन गरिएको हो।
सो निर्णयअनुसार मकवानपुर–१ मा भीषण ठकुरी र मकवानपुर–२ मा बुद्धराज सिन्तानलाई नेपाल विद्यार्थी संघको निर्वाचन संयोजकको जिम्मेवारी दिइएको छ। संगठनले युवा तथा विद्यार्थीलाई केन्द्रमा राख्दै कांग्रेस उम्मेदवारको पक्षमा माहोल बनाउने रणनीति अपनाउने जनाएको छ।



































