यदि तपाईंको एन्ड्रोइड फोन प्रयोग नगर्दा पनि ब्याट्री चाँडै सकिने समस्या छ भने यसको कारण एउटा सेटिङ हुन सक्छ । एन्ड्रोइड फोनहरूमा मोबाइल डेटा अलवेज एक्टिभ (Mobile data always active) नामक एउटा यस्तो फिचर हुन्छ, जसले तपाईं वाईफाईमा जोडिएको बेला पनि पृष्ठभूमिमा मोबाइल डेटालाई सक्रिय राखिरहन्छ ।
यो फिचर फोनमा डिफल्ट रूपमै अन गरिएको हुन्छ । यसको मुख्य उद्देश्य वाईफाई र मोबाइल डेटाबिचको नेटवर्क परिवर्तनलाई सहज बनाउनु हो । उदाहरणका लागि यदि तपाईं घरको वाईफाईबाट बाहिर निस्कनुभयो वा वाईफाई सिग्नल अचानक कमजोर भयो भने यो सेटिङले गर्दा फोन तुरुन्तै मोबाइल डेटामा स्विच हुन्छ र इन्टरनेट काटिएको महसुस हुँदैन । यो ठ्याक्कै कुनै एपलाई ब्याकग्राउन्डमा खुला राखेजस्तै हो, ताकि आवश्यक पर्दा त्यो तुरुन्तै खुलोस् ।
एक परीक्षणमा दिनको १० घण्टा वाईफाई प्रयोग गर्दा र केवल २० मिनेट मात्र घरबाहिर रहँदा पनि फोनको १६ प्रतिशत ब्याट्री मोबाइल डेटाले नै खर्च गरेको पाइएको थियो । यस्तो अवस्थामा दिनभर बलियो वाईफाई सिग्नलमा रहने प्रयोगकर्ताहरूका लागि यो सेटिङ अनावश्यक ब्याट्री खर्च गर्ने माध्यम मात्र बन्न पुग्छ ।
कसरी बन्द गर्ने यो सेटिङ ?
यो सेटिङ सामान्य मेनुमा नभई डेभलपर अप्सनभित्र लुकाइएको हुन्छ । यसलाई बन्द गर्न सबैभन्दा पहिला फोनको सेटिङमा जानुहोस् र अबाउट फोन (About Phone) मा थिच्नुहोस् ।
त्यहाँ रहेको बिल्ड नम्बर (Build Number) वा सफ्टवेयर भर्सन (Software version) मा लगातार सात पटक ट्याप गर्नुहोस् । त्यसपछि तपाईंको फोनको पिन वा पासवर्ड मागेपछि ‘डेभलपर अप्सन’ सुरु हुनेछ ।
अब फेरि सेटिङको सिस्टम (System) अथवा सिस्टम म्यानेजमेन्ट (System management) मेनुमा गएर डेभलपर अप्सन (Developer options) भित्र छिर्नुहोस् ।
त्यहाँ नेटवर्किङ’ (Networking) सेक्सनमा जानुहोस् र मोबाइल डेटा अलवेज एक्टिभ (Mobile Data Always Active) भन्ने बटनलाई बन्द (Off) गरिदिनुहोस् ।
यो फिचर बन्द गर्दा यदि तपाईं धेरै फोन कल गर्नुहुन्छ र वाईफाई कलिङ फिचरमा निर्भर हुनुहुन्छ भने वाईफाई सिग्नल कमजोर हुँदा कल काटिने वा अवरोध हुने सम्भावना रहन्छ । साथै, वाईफाईबाट मोबाइल डेटामा स्विच हुँदा पहिलेको तुलनामा केही सेकेन्ड बढी समय लाग्न सक्छ ।
यद्यपि, आधुनिक फोनहरूमा यो ढिलाइ खासै महसुस हुँदैन । साना लाग्ने प्राविधिक सुधारहरूले स्मार्टफोनको ब्याट्रीको आयु बढाउन र प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन मद्दत पुर्याउँछ । टेकपानाबाट















