हेटौंडा — समुदायको विकासमा निरन्तर सक्रिय योगदान पु¥याएका दुई व्यक्तित्वलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान प्रदान गरेको छ। हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र हेटौंडाकी अग्रज महिला उद्यमी ताराकुमारी राईलाई रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा सहकारीको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।
सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा रम्तेल र राईलाई जनही १० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। समुदायमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उनीहरुलाई सामुदायिक सम्मान २०८२ प्रदान गरिएको हो।
हर्क रम्तेलको अगुवाइमा हेटौंडा–१८ स्थित गुम्बाडाँडा पार्क निर्माण हुनुका साथै वैदिक संस्कृत गुरुकुल सञ्चालनमा रहेको छ। गुरुकुलमा दलित तथा गैरदलित बटुकहरूले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन्। अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाबाट सुरु भएको गुम्बाडाँडा अहिले मकवानपुरकै चर्चित पर्यटकीय गन्तव्यको रूपमा विकसित भइसकेको छ।
त्यस्तै, विगत साढे दुई दशकदेखि सौन्दर्यकर्मीका रूपमा क्रियाशील ताराकुमारी राईले हालसम्म करिब ६ हजार महिलालाई ब्युटिसियन तालिम प्रदान गरिसकेकी छन्। तालिम प्राप्त महिलाहरू अहिले विभिन्न स्थानमा पार्लर सञ्चालन गर्दै स्वरोजगार बनेका छन्।
सम्मानपछि दुवै व्यक्तित्वले सामुदायिक रेडियोबाट पाएको सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको प्रतिक्रिया दिएका थिए। प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहित रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली र दिव्यतारा सहकारीकी अध्यक्ष लक्ष्मीदेवी श्रेष्ठले सम्मान प्रदान गरेका हुन्।
यसै अवसरमा रेडियो मकवानपुरको वर्ष कर्मचारी सम्मान प्राविधिक नविन आले मगरलाई प्रदान गरिएको छ। उनलाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै मेयर लामाले लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा सञ्चार माध्यम अनिवार्य शर्त भएको उल्लेख गरिन्। आर्थिक मन्दीका कारण सामुदायिक रेडियोहरू चुनौतीमा परेकोप्रति चिन्ता व्यक्त गर्दै उनले सामुदायिक रेडियो सार्वजनिक हितका लागि अझ आवश्यक बन्दै गएको बताइन्।
वार्षिकोत्सवकै अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा टिम टेलिभिजन विजेता र नेपाल पत्रकार महासंघ मकवानपुर शाखा उपविजेता बनेका थिए। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान, खाद्यान्न वितरण, सेनेटरी प्याड वितरण तथा अन्तरसंवाद कार्यक्रमसमेत आयोजना गरिएको थियो।






















































