आज (शुक्रबार)देखि दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘कुमारी’ र सुदीप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले शुक्रबारबाट दर्शकको रोजाइ जित्ने प्रयास थालेका हुन् ।
शो सङ्ख्याको हिसाबले ‘कुमारी’ ले अग्रता लिएको छ । यस चलचित्रले देशभर १ सय ५२ शो पाउँदा ‘रमिताको पिरती’ ९३ शोमा सीमित रहेको छ । ‘कुमारी’ आकृति राजभण्डारी र अभिषेक खड्काका लागि डेब्यू फिल्म हो । निर्माता महेन्द्र अधिकारीको यस फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का र सनम श्रेष्ठलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
उता ‘रमिताको पिरती’ मा आना शर्माले रमिताको शीर्ष भूमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा गायक समीर श्रेष्ठसँगै धीरज मगर र विनय श्रेष्ठको पनि अभिनय रहेको छ । एक घण्टा ५५ मिनेटको रनटाइम रहेको यस चलचित्रले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ ।
दुई फरक कथावस्तु र प्रस्तुतिसहित आएका यी चलचित्रले दर्शकको प्रतिक्रिया कस्तो पाउँछन् भन्ने चासो बढेको छ ।
















