आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसार सुरु गर्नुअघि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आचारसंहिता, २०८२ ले घोषणापत्रकै आधारमा मात्रै प्रचारप्रसार गर्न पाइने स्पष्ट गरेको हो।
आचारसंहिताको दफा ३७ अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी त्यसलाई आयोगमा पेश गरेपछि मात्र प्रचारप्रसारमा जान पाउने व्यवस्था छ। निर्वाचन कार्यतालिकाअनुसार फागुन ४ गतेदेखि प्रचारप्रसार सुरु हुने भए पनि हालसम्म कुनै पनि राजनीतिक दलले निर्वाचन आयोगमा घोषणापत्र पेश नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।
आचारसंहितामा राजनीतिक दलले घोषणापत्र निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ। साथै, निर्वाचनमा विजयी दल वा उम्मेदवारले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताको कार्यप्रगति विवरण प्रत्येक वर्ष सर्वसाधारणका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।


































