मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले विद्यार्थीको शैक्षिक सफलतासँगै शारीरिक र मानसिक विकासका लागि खेलकुदलाई शिक्षासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले कक्षाकोठामा सीमित शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो। विद्यार्थीको व्यक्तित्व विकासमा अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुने बताउँदै वडा कार्यालयले खेलकुदलगायत विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
वडा नम्बर ४ को आयोजनामा, शैक्षिक गुणस्तर सुधार समितिको समन्वय तथा भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नगरभित्रका ६ वटा विद्यालय सहभागी छन्।
माघ २३ र २४ गते दुई दिनसम्म भुटनदेवी माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा सचिव रामप्रसाद गुरागाईं, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, व्यवस्थापन समिति तथा शैक्षिक गुणस्तर सुधार समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको सह–प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभयो।



































