नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा ग्यास सिलिन्डर बोकेर हिँड्नुपर्ने दिन अन्त्य हुने दाबी गरेका छन्। झापा–५ मा घरदैलो अभियानका क्रममा मतदातासँग कुराकानी गर्दै उनले पाइपमार्फत घरघरमा ग्यास पुर्याउन सकिने सम्भावना रहेको बताएका हुन्।
ओलीका अनुसार नेपालमै खाना पकाउने ग्यास उत्पादन गर्न सकिने आधारहरू देखिएका छन्। उनले दैलेखमा सुरु भएको ग्यास उत्खनन कार्य बीचमै रोकिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई पुनः अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। दैलेखबाट ग्यास उत्पादन सुरु भएमा विदेशबाट आयात गर्नुपर्ने निर्भरता उल्लेखनीय रूपमा घट्ने उनको भनाइ थियो।
“पानी जस्तै ट्यांकीमा ग्यास भण्डारण गरेर पाइपबाट घरघरमा पुर्याउन सकिन्छ, त्यसपछि सिलिन्डरको झन्झट नै हुँदैन,” ओलीले भने।
यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिबारे उठेका आलोचनाप्रति स्पष्टिकरण दिँदै उनले आफूले कसैलाई अपमान गर्ने उद्देश्य नराखेको बताए। संस्कृतिको संरक्षण गर्दै आधुनिक ऊर्जाको प्रयोगतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अब दाउरा वा गुइँठाभन्दा विद्युत् प्रयोगतर्फ ध्यान दिनुपर्ने धारणा राखे।
हाल ओली झापा–५ मा चुनावी घरदैलो अभियानमा सक्रिय छन्। उनी सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।


































