नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा पार्टीले उद्यमशीलता विकासलाई प्रमुख प्राथमिकता दिएको छ ।
प्रतिबद्धता अनुसार उत्पादन तथा रोजगारीमूलक उद्यम गर्न चाहने दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १० वर्षका लागि १ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । सो ऋणको ब्याजदर ५ प्रतिशत मात्र रहने उल्लेख गरिएको छ ।
पार्टीले ‘शिल्पी उद्यमशीलता’ कार्यक्रमअन्तर्गत दलित समुदायका परम्परागत सीप—लोहारकला, छाला उद्योग, निर्माण तथा हस्तकलालाई आधुनिक व्यावसायिक स्वरूप दिन अनुदान, तालिम, प्राविधिक सहयोग र बजार पहुँच सुनिश्चित गर्ने जनाएको छ ।
त्यसैगरी, आदिवासी जनजाति उद्यमशीलता प्रवर्द्धन गर्न हस्तकला, काष्ठकला, जडीबुटी प्रशोधन, सांस्कृतिक पर्यटन र स्थानीय रक्सी उत्पादनलाई व्यावसायिक बनाइनेछ । यसका लागि गुणस्तर नियन्त्रण, ब्रान्डिङ तथा निर्यात प्रवर्द्धनमा जोड दिइने उल्लेख छ ।
महिला नेतृत्वको उद्यमशीलता विकासका लागि घरेलु उद्योग, कृषि प्रशोधन, हस्तकला, आईटी तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण कर्जा, तालिम, बजार सहयोग र मेन्टरिङ कार्यक्रम सञ्चालन गरिनेछ । साथै, महिला उद्यम विकास कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ ।
युवा नवप्रवर्तन र डिजिटल अर्थतन्त्रलाई लक्षित गर्दै स्टार्टअप तथा आईटी उद्यमलाई विशेष प्राथमिकता दिइनेछ । स्टार्टअप दर्ता निःशुल्क गर्ने, सुरुका पाँच वर्ष शुल्क छुट दिने, इन्क्युबेसन केन्द्र स्थापना गर्ने र आईटी पार्कमार्फत डिजिटल उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समावेश छ ।


































