हेटौंडा । मनहरी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमि समस्या समाधानको माग गर्दै भूमि अधिकार मञ्च मनहरीले नेकपा (एमाले) का मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार लवशेर बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
पुस्तौँदेखि जोतभोग गर्दै आएको जग्गा बफरजोन र आरक्षण क्षेत्रभित्र परेको भन्दै हालसम्म नापी तथा लालपुर्जा वितरण हुन नसक्दा स्थानीयवासीहरू गम्भीर समस्यामा परेका मञ्चको भनाइ छ। मञ्च अध्यक्ष सूर्यबहादुर सापकोटाका अनुसार सरकारले लामो समयदेखि गरिब तथा सीमान्तकृत समुदायमाथि बेवास्ता गर्दै आएको र अब बन्ने सरकारले मनहरीवासीको भूमि समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने माग पत्रमार्फत राखिएको हो।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै उम्मेदवार बिष्टले निर्वाचन जितेपछि मनहरीको भूमि समस्या आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाए। उत्तरी मकवानपुरको थाहा नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका बिष्टले आफूले जनताका लागि काम गरेर विश्वास जितेको दाबी गर्दै पैसाको बलमा होइन, कामकै आधारमा चुनाव जित्ने विश्वास व्यक्त गरे।
मनहरी गाउँपालिका–९ ज्यामिरेमा आयोजित कार्यक्रममा भूमि अधिकार मञ्च मनहरीका अध्यक्ष सूर्यबहादुर सापकोटा र जिल्ला भूमि अधिकार मञ्च अध्यक्ष देवकृष्ण थोकरले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। कार्यक्रम नेकपा मनहरी गाउँपालिका–९ का वडाध्यक्ष सोलाल गोलेको अध्यक्षतामा सम्पन्न भएको थियो।


































