हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० मा सोमबार आयोजित एक कार्यक्रममा २७ जना स्वतन्त्र युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। स्थानीय स्तरमा सक्रिय रहेका ती युवाहरू अब कांग्रेसको चुनावी अभियानमा औपचारिक रूपमा जोडिएका हुन्।
कांग्रेस वडा सभापति तथा निर्वाचन परिचालन समिति संयोजक युवराज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नवप्रवेशी युवाहरूलाई स्वागत गरिन्।
पार्टी प्रवेश गर्ने युवाहरूमा सुजन खड्की, रविन देउला, अनिल थापा, रितेश श्रेष्ठलगायत रहेका छन्। कार्यक्रममा बोल्दै वडा सभापति लामाले युवाहरूको सहभागिताले कांग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
उक्त अवसरमा समानुपातिक उम्मेदवार सर्मिला श्रेष्ठ, जिल्ला सदस्य ताराकुमारी राई, नेपाल तरुण दल जिल्ला सदस्य नितेश लामालगायत नेताहरूले पनि मन्तव्य राखेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि उपाध्यायले आफू जेनजी, महिला तथा समग्र मकवानपुरे जनताले खोजेको उम्मेदवार भएको दाबी गर्दै समृद्ध मकवानपुर निर्माणका लागि ‘रुख’ चिन्हमा मतदान गर्न अपिल गरिन्।
कार्यक्रममा कांग्रेस मकवानपुरका विभिन्न पदाधिकारी तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















